निर्वाचन आयोगले भनेको ‘स्थिर समय’ वा ‘मौन अवधि’ के हो ?
मंसिर २, काठमाडौं । आम निर्वाचन २०७९ को मौन अवधि गएराति १२ बजेदेखि शुरु भएको छ । मतदानको ४८ घण्टा अघिदेखि निर्वाचनको मौन अवधि लागू हुन्छ । मौन अवधि मतदान नसकिएसम्म जारी रहन्छ । मौन अवधिमा उम्मेदवार र उनीहरुको पक्षमा प्रचारप्रचार लगायतका क्रियाकलाप गर्न पाइँदैन । निर्वाचन आयोगले गत बैशाखको स्थानीय तह निर्वाचनसम्म मतदानको ४८ घण्टाअघिको अवधिलाई ‘मौन अवधि’ भन्ने गरेको थियो । यसपटक उसले ‘स्थिर समय’ भन्ने शब्दावली प्रयोग गरेको छ । ‘स्थिर समय’ वा ‘मौन अवधि’ जे भनेपनि मतदानको ४८ घण्टाअघिदेखि दल र उम्मेदवारको प्रचारप्रसार निषेधित हुन्छ ।
के के गर्न पाइँदैन ?
- निर्वाचन आचारसंहिता अनुसार मौन अवधिमा राजनीतिक दलहरुले प्रचारप्रसारका काम गर्न पाउँदैनन् ।
- दलहरुलाई छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला गोष्ठी लगायत क्रियाकलाप गर्न रोक लगाइएको हुन्छ ।
- आचारसंहितामा भनिएको छ, ‘दल वा उम्मेदवारका प्रचार प्रसारका सामग्री हटाउनु पर्ने, कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न वा निर्वाचन प्रचार प्रसार गर्न नहुने ।
- मौन अवधि शुरु भएपछि सम्बन्धित दल वा उम्मेदवारहरुले मतदान केन्द्रको ३०० मिटर वरपर राखिएका प्रचारप्रसार सामग्री हटाउनु पर्ने ।
- निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न नहुने।
- एसएमएस, फेसबुक, भाइवरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न नहुने ।
- अनलाइन, छापा वा अरू कुनै पनि माध्यमबाट दल वा उम्मेदवारको पक्ष वा विपक्षमा सन्देश, सूचना वा प्रचारका सामग्री पोस्ट वा सेयर गर्न नहुने ।
मतदानको समयमा प्रतिस्पर्धीहरुबीच विवाद वा झडप नहोस् र कुनै अप्रिय घटनाले मतदाता आतंकित नहोउन् भनेर मौन अवधि शुरु गर्ने अन्तर्राष्ट्रिय प्रचलन छ । मौन अवधिमा प्रचारप्रसारका सबै गतिविधि शान्त हुने भएकाले मतदानको वातावरण बन्छ र मतदाताहरु उत्साहित भएर मतदान गर्छन् भन्ने अपेक्षा गरिन्छ । यदि शून्य अवधिको व्यवस्था नराख्ने हो र मतदानको अघिल्लो दिनसम्म पनि प्रचारप्रचारको छुट हुने हो भने उम्मेदवार र राजनीतिक दलहरुले मतदातालाई प्रभावित पार्ने जोखिम रहन्छ । शान्त वातावरणमा निर्वाचन गर्न अनि उम्मेदवारविच स्वच्छ प्रतिस्पर्धात्मक वातावरण बनाउन मौन अवधिको व्यवस्था गर्ने प्रचलन छ ।
Facebook Comments