शानदार ब्याटिङसँगै युएईलाई हराउँदै नेपालले जित्यो पहिलो शृंखला
शानदार ब्याटिङ
कीर्तिपुर क्रिकेट मैदानमा टस जितेर फिल्डिङ रोजेको नेपालले शुरुमा यूएईलाई १७६ रनमा नै रोक्यो। त्यसपछि संयमित ब्याटिङ गर्दै जम्मा ४ विकेटको क्षतिमा लक्ष्य प्राप्त गर्न सक्यो। नेपालको जितमा ज्ञानेन्द्र मल्ल र आशिफ शेखले दोस्रो विकेटको लागि बनाएको १२२ रनको साझेदारी महत्त्वपूर्ण रह्यो। प्रारम्भिक ब्याटर अर्जुन साउद ९ रनमा आउट भएपछि शेख र मल्लको जोडीले इनिङलाई आरामदायी ढङ्गले अगाडि बढाएका थिए।पूर्व कप्तान मल्लले ७३ बलमा ६४ रन जोड्ने क्रममा ३ छक्का र ७ चौका प्रहार गरेका थिए। उनी ३४ औँ ओभरमा एलबीडब्लुको धरापमा परेर पवेलियन फर्कँदा खेल नेपालको पक्षमा ढल्किसकेको थियो। यूएईले कुनै पनि बेला खेललाई मोड्न सकेको देखिएन। आशिफ शेखले सर्वाधिक अविजित ८८ रन बनाएका थिए। उनको चौकाको मद्दतले नेपालले कुल १८० रन बनाएको थियो।जित्न १ रन बाँकी हुँदा दीपेन्द्रसिँह ऐरी शून्यमा रन आउट भएका थिए। कप्तान रोहित पौडेलले १० रन बनाएका थिए। यसअघि नेपालको कसिलो बलिङ सामु यूएई ५० ओभरमा ९ विकेटको क्षतिमा १ सय ७६ रनमा सीमित भएको थियो। टस हारेर पहिला ब्याटिङ पाएको युएईको ब्याटिङ शुरु देखि नै धरमराएको थियो। ३१ औँ ओभरमा खेल पुग्दा उनीहरूले ९३ रनमात्र जोडेका थिए भने ९ खेलाडी आउट भइसकेका थिए। तर अन्तिम विकेटलाई तोड्न नसक्दा यूएईले स्कोरलाई १७६ रनसम्म लैजान सफल भयो। यसमा आयन खान र हजरत बिलालले अन्तिम विकेटका लागि ८३ रनको साझेदारी गरे। खान ६३ बलमा अविजित ५४ रन तथा बिलाल ५४ बल खेलेर २० रनमा अविजित रहे। यसमा थुप्रै कीर्तिमानहरू बनेका छन्।युएईको लागि अन्तिम विकेटका लागि भएको यो उच्च साझेदारी हो। त्यस्तै एक दिवसीय क्रिकेटकै इतिहासको अन्तिम विकेटका लागि भएको चौथो ठूलो साझेदारी पनि हो यो। ओडिआईको इतिहासमा अन्तिम विकेटका लागि १९८४ मा इङल्याण्ड विरुद्धको खेलमा वेस्ट इन्डिजका भिभियन रिचर्ड्स र माइकल होल्डिङले इङ्ग्ल्याण्डविरुद्ध १ सय ६ रनको साझेदारी गरेका थिए।
शुक्रवारको खेलमा यूएईबाट एलिशान शराफुले ३३ रन तथा रोहन मुस्तफाले २४ रन जोडेका थिए। यूएईको रन रोक्न तेज गतिका बलर गुलशन झाले शुरुका दुई महत्त्वपूर्ण विकेट लिए।उनीसँगै दीपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले २/२ विकेट लिएका थिए। सोमपाल कामीले यूएईका आक्रामक ब्याटर वृत्य अरविन्दलाई शून्यमा बोल्ड गरेका थिए भने ललित राजवंशीले पनि एक विकेट लिएका थिए। नेपालका दीपेन्द्रसिंह ऐरीले १० ओभरमा ३ मेडनसहित २२ रन खर्चेर २ विकेट लिएका थिए। कुशल भुर्तेलले ७ ओभरमा १ मेडनसहित ३२ रन खर्चेर २ विकेट लिएका थिए।गुलशन झाले ७ ओभरमा ४२ रन खर्चेर २ विकेट लिएका थिए भने सोमपाल कामी र ललित राजवंशीले एक एक विकेट लिएका थिए।
Facebook Comments