मेसीले विश्वकप फुटबलमा बनाएका कीर्तिमानहरू ।
पुष ४, काठमाडौं । आइतबार कतारको लुसेस आइकोनिक स्टेडियममा साविक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गर्दै अर्जेन्टिनाले ३६ वर्षपछि पहिलो पटक विश्वकप उपाधि जित्यो ।सुपरस्टार लिओनल मेसीले विश्वकपमा आफ्नो खेल जित्दै पहिलो पटक विश्वकप ट्रफी उचाल्दै करियरलाई सार्थक बनाए । समग्रमा अर्जेन्टिनाले जितेको यो तेस्रो विश्वकप उपाधि हो भने मेसीले पाँचौ पटक विश्वकप खेल्दा पहिलो पटक ट्रफी उचाल्ने अवसर पाए । क्लब फुटबल सबैखाले उपाधि र व्यक्तिगत अवार्ड जितिसकेका मेसीका लागि यस विश्वकपअघि जित्न बाँकी एउटै ट्रफी थियो । जुन ६४ खेल र एक महिना चलेको २२औं संस्करणको उपाधि जित्दै उनले पूरा गरे । फाइनलपछि मेसीले सानैदेखि आफूले देखेको सपना पूरा भएको बताए । साथै उनले राष्ट्रिय टिमबाट तत्कालन सन्यास नलिने र च्याम्पियन प्लेअरको रुपमा अझै केही समय खेल्ने समय बताइसकेका छन् । फ्रान्ससँग खेल्नुअघि विश्वकपमा भने यही फाइनल नै आफ्नो अन्तिम विश्वकप खेल हुने मेसीले बताएका थिए ।
३५ वर्षीय मेसीले विश्वकप ट्रफी चुम्लाई १६ वर्ष मिहिनेत गरे । यस क्रममा उनले एक पटक फाइनल खेले पनि जर्मनीसँग पराजित भएपछि उपाधि जित्न सकेका थिएनन् । दोस्रो पटक फाइनल पुर्याउँदा भने उनी भाग्यमानी सावित भए ।क्लब फुटबलमा दर्जनौं कीर्तिमान बनाइसकेका मेसीलाई यस अघि विश्वकप जित्न नसक्ने, विश्वकपको नकआउट चरणमा गोल गर्न नसक्ने लगायत विभिन्न किसिमको आलोचना हुने गर्थ्यो । तर अहिले यो सबैको जवाफ मात्र प्राप्त भएको छैन मेसीले विश्वकप फुटबलमै पनि दर्जन बढी कीर्तिमान बनाए । कति कीर्तिमान तोडिएलान् कति कीर्तिमान तोडिन असम्भव जस्तै छ । यसलाई लिएर फुटबलका भावी पुस्ताले पनि गर्व गर्नेछन् ।
कतार विश्वकपपछि मेसीले विश्वकप फुटबलमा बनाएका कीर्तिमानहरू ।
१, सर्वाधिक खेल : मेसीले विश्वकपमा सर्वाधिक २६ खेल खेलेका छन् । कतारमा सबै ७ खेल खेल्दै उनले सर्वाधिक २५ खेल खेलेका जर्मनीका लोथार माथाउसको कीर्तिमान तोडेका हुन् । जर्मनीकै मिरोस्लाभ क्लोजले २४ खेल खेलेका छन् भने इटलीका पाउलो माल्दिनीले २३ र पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले २२ खेल खेलेका छन् ।
२, दुई पटक विश्वकप गोल्डेन बल : विश्वकपको ९२ वर्षे इतिहासमा मेसी दुई पटक गोल्डेन बल जित्ने पहिलो खेलाडीसमेत बनेका छन् । यसअघि सन् २०१४ मा फाइनल पुग्दा पनि मेसीले गोल्डेन बल जितेका थिए । कतारमा अर्जेन्टिनालाई च्याम्पियन बनाउँदा प्रतियोगिताकै उत्कृष्ट खेलाडी बन्दै मेसीले दोस्रो पटक गोल्डेन बल जितेका हुन् ।
फाइनलमा फ्रान्सविरुद्ध दुई गोल गरेका मेसी ७ गोलसहित सर्वाधिक गोल गर्नेमा भने दोस्रोमा रहे । फाइनलमा ह्याट्रिक गरेका किलिएन एमबाप्पेले ८ गोल सहित गोल्डेन बुट अवार्ड जिते ।
३, पाँच फरक विश्वकपमा असिस्ट : मेसी पाँच फरक विश्वकपमा गोलका लागि असिस्ट गर्ने पहिलो र एक मात्र खेलाडी हुन् । उनले सन् २००६ देखि २०२२ सम्म खेलेका पाँच वटै विश्वकपमा असिस्ट गरेका छन् ।
४, विश्वकपको हरेक चरणमा गोल गर्ने पहिलो खेलाडी : मेसीले कतार विश्वकपअघि नकआउट चरणमा गोल गर्न सकेका थिए । तर यस विश्वकपमा आफ्नो जादुबाट उनले चमत्कार नै गरे भन्दा फरक पर्दैन । मेसीले खेलेका ७ मध्ये ६ खेलमा गोल गरे । त्यसमा पनि उनले समूह चरण देखि हरेक चरणमा गोल गरे । मेसी समूह चरण, अन्तिम १६, क्वाटरफाइनल, सेमिफाइनलमा र फाइनलमा गोल गर्ने एक्लो खेलाडी बने ।
५, विश्वकपमा सर्वाधिक खेल जित : मेसीले विश्वकपमा सर्वाधिक १७ खेल जित्ने जर्मनीका मिरोस्लाभ क्लोजको कीर्तिमान बराबरी गरेका छन् ।
६, कप्तानको रुपमा धेरै खेल : मेसीले विश्वकपमा कप्तानको रुपमा सर्वाधिक १९ खेल खेर्लेका छन् । उनीपछि मेक्सिकोमा राफा मार्क्वेजले १७ र अर्जेन्टिनाका डिएगो म्याराडोनाले १६ खेलमा विश्वकपमा कप्तानी गरेका छन् ।
७, विश्वकपमा सर्वाधिक मिनेट खेल्ने खेलाडी : मेसीले विश्वकपमा सर्वाधिक २ हजार ३१४ मिनेट खेलेका छन् । उनले इटलीका पाउलो माल्दिनीको नाममा रहेको २ हजार २१७ मिनेट खेल्ने कीर्तिमान तोडेका हुन् । फ्रान्सविरुद्ध फाइनलमा २४ मिनेट खेलेपछि नै मेसीले कीर्तिमान तोडेका थिए ।
८, सर्वाधिक विश्वकप खेल्ने खेलाडी : मेसी सर्वाधिक ५ पटक विश्वकप खेल्ने ६ खेलाडीमध्ये एक हुन् । मेसीसँगै मेक्सिकोका एन्टोनिओ कार्भाजल, जर्मनीका लोथार म्याथाउस, मेक्सिकोकै राफा मार्क्वेज र आन्द्रेज गुअर्डाडो तथा पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले ५ विश्वकप खेलेका छन् ।
९, नकआउट चरणमा सर्वाधिक असिस्ट : मेसीले नकआउट चरणमा सर्वाधिक असिस्ट गर्ने पेलेको कीर्तिमान बराबरी गरेका छन् । दुवैले समान ६ असिस्ट गरेका छन् ।
१०, अर्जेन्टिनाको सर्वाधिक गोलकर्ता : मेसी विश्वकपमा अर्जेन्टिनाका लागि सर्वाधिक गोल गर्ने खेलाडी समेत बने । उनले विश्वकपमा १३ गोल गरेका छन् । मेसीले २००६ को विश्वकपमा १ गोल गरेका थिए भने २०१४ मा चार र २०१८ मा १ गोल नै गरेका थिए । २०१० मा भने गोल गर्न सकेनन् । यस पटक उनले विश्वकपमा ७ गोल गरे । मेसीले गाब्रीएल बाटिस्टुटालाई पछि पारेका हुन् । बाटिस्टुटाले १० गोल गरेका छन् ।
विश्वकप इतिहासमै सर्वाधिक गोल गर्नेमा मेसी फ्रान्सका जस्ट फोन्टेनसँगै संयुक्त रुपमा चौथो स्थानमा छन् ।
जर्मनीका मिरोस्ला क्लजले सर्वाधिक १६ गोल गर्दा ब्राजिलका रोनाल्डोले १५ र जर्मनीकै गर्ड मुलरले १४ गोल गरेका छन् ।
११, आफ्नो हरेक दशक उमेरमा विश्वकपमा गोल : मेसीले आफ्नो हरेक दशकमा विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बने । उनले टीनएज, ट्वेन्टिज र थर्ट्टिजमा गोल गरे । पेलेले भने केही महिनाले यो अवसर गुमाएका थिए ।
१२, पहिलो र अन्तिम गोलबीचको अवधि : मेसीले विश्वकपमा पहिलो र अन्तिम गोल गर्दाको समय अवधि सबैभन्दा धेरै छ । मेसीको पहिलो र अन्तिम गोलको समयअवधि १६ वर्ष १८४ दिन छ । त्यसपछि रहेका क्रिस्टियानो रोनाल्डोको पहिलो र अन्तिम गोलको अवधि १६ वर्ष १६० दिन छ ।
१३, सर्वाधिक प्लेअर अफ दि म्याच : मेसी विश्वकपमा सर्वाधिक ११ पटक म्यान अफ दि म्याच घोषित भएका छन् । उनी कतार विश्वकपमा खेलेका ७ मध्ये ५ खेलमा प्लेअर अफ दी म्याच भए । मेसीले एकै विश्वकपमा सर्वाधिक प्लेअर अफ दी म्याच हुने कीर्तिमानसमेत बनाए । यसअघि सन् २०१० मा नेदरल्याण्ड्सका वेस्ले इनाइडर र २०१४ मा मेसीले नै चार पटक प्लेअर अफ दि म्याच अवार्ड जितेका थिए ।
Facebook Comments