28th July 2026, Tuesday
News by: MissionSanchar
काठमाडौं, साउन १ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सेयर बजारलाई लिएर फैलाइएका अफवाह र भ्रामक सूचनाबाट प्रभावित नहुन सम्पूर्ण लगानीकर्तालाई आग्रह गरेका छन्। उनले नेपालको अर्थतन्त्रका आधारभूत सूचकहरू निरन्तर सुधारोन्मुख रहेको र सरकारले बजार सुधारका लागि योजनाबद्ध रूपमा काम गरिरहेको उल्लेख गर्दै सेयर बजार आगामी दिनमा अझ सकारात्मक दिशातर्फ अघि बढ्ने विश्वास व्यक्त गरेका हुन्।
शुक्रबार आफ्नो सचिवालयमार्फत जारी प्रेस विज्ञप्तिमा अर्थमन्त्री वाग्लेले पर्याप्त तरलता, घट्दो ब्याजदर, लगानीमैत्री कर नीति तथा नियामक निकायमार्फत भइरहेका सुधारात्मक पहलहरूले पूँजी बजारलाई थप मजबुत बनाउने बताएका छन्। उनका अनुसार अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक दिशामा अघि बढिरहेका छन्। बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहेको, ब्याजदर घटेको तथा सरकारले लगानी र खर्च बढाउन सहयोग पुग्ने नीतिहरू कार्यान्वयनमा ल्याएकाले त्यसको सकारात्मक प्रभाव क्रमशः सेयर बजारमा पनि देखिनेछ।
अर्थमन्त्री वाग्लेले स्थिर सरकार, सक्षम नेतृत्व र नियामक निकायमा पारदर्शी व्यवस्थापनका कारण पूँजी बजार सुधारका लागि आवश्यक वातावरण तयार भएको उल्लेख गरेका छन्। उनले बजारलाई अझ व्यवस्थित, पारदर्शी र लगानीकर्तामैत्री बनाउन सम्बन्धित निकायहरूले योजनाबद्ध रूपमा काम गरिरहेको जानकारी दिएका छन्।
उनले केही समूहले गलत भाष्य निर्माण गरी लगानीकर्तामा अनावश्यक त्रास फैलाउने प्रयास गरिरहेको उल्लेख गर्दै यस्ता अफवाहको पछि नलाग्न आग्रह गरेका छन्। सामाजिक सञ्जाल वा अनधिकृत स्रोतबाट आउने सूचनाभन्दा आधिकारिक सरकारी निकायबाट प्राप्त जानकारीलाई मात्र विश्वास गर्न उनले अनुरोध गरेका छन्।
अर्थमन्त्रीले लगानीकर्तालाई धितोपत्र बजारमा लगानी गर्नुअघि पर्याप्त अध्ययन गर्न, तथ्यमा आधारित निर्णय लिन र दीर्घकालीन सोचका साथ अघि बढ्न सुझाव दिएका छन्। सरकारले कम बोल्ने तर परिणाममुखी रूपमा काम गर्ने नीति अवलम्बन गरेको उल्लेख गर्दै उनले आर्थिक सुधारका कार्यक्रमहरू कार्यान्वयनसँगै पूँजी बजारमा थप सकारात्मक परिणाम देखिने विश्वास व्यक्त गरेका छन्।
यद्यपि पछिल्ला महिनाहरूमा नेप्से परिसूचकमा गिरावट देखिए पनि अर्थमन्त्री वाग्लेले त्यसलाई दीर्घकालीन दृष्टिकोणबाट हेर्न आग्रह गर्दै नेपालको अर्थतन्त्र क्रमशः सुदृढ बन्दै गएको र त्यसको प्रतिफल पूँजी बजारमा पनि प्रतिबिम्बित हुने बताएका छन्। उनले अन्त्यमा सम्पूर्ण लगानीकर्तालाई धैर्य कायम राख्न अफवाहभन्दा तथ्यलाई आधार बनाउन र बजारप्रति सकारात्मक तथा दीर्घकालीन दृष्टिकोण राख्न आग्रह गरेका छन्।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
त्रिभुवन विश्वविद्यालयमा उपकुलपति नियुक्त भएलगत्तै नेविसंघ र अखिल (क्रान्तिकारी)ले त्यसको विरोधमा आन्दोलन थाले।
पीएसजीद्वारा रियल म्याड्रिय पराजित
हेमबहादुर मल्ल सम्मान पूर्वप्रधानन्यायाधीश श्रेष्ठलाई प्रदान
मधेश प्रदेश सभा बैठक अवरुद्ध