28th July 2026, Tuesday

पूँजीबजार सुधारमा उच्च नैतिकता र गुणस्तरीय नियमन आवश्यक : अर्थमन्त्री वाग्ले

Post Image
6 घण्टा अगाडी

News by: MissionSanchar

काठमाडौं, साउन १२ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नियमकीय गुणस्तर सुधार गर्दै नेपालको पूँजीबजारलाई विश्वसनीय, पारदर्शी र प्रतिस्पर्धी बनाउन नेपाल धितोपत्र बोर्ड (सेबोन)ले प्रभावकारी रूपमा काम गर्नुपर्ने बताउनुभएको छ।

सोमबार नेपाल धितोपत्र बोर्डको स्थलगत निरीक्षणका क्रममा अर्थमन्त्री वाग्लेले बोर्ड नेतृत्वलाई उच्च नैतिकताका साथ पूँजीबजार विकासका कार्यक्रम अघि बढाउन निर्देशन दिनुभयो। नयाँ नेतृत्व आएपछि बोर्डले दीर्घकालीन सोचसहित काम अघि बढाएको र त्यसको सकारात्मक संकेत बजारमा देखिन थालेको उल्लेख गर्दै उहाँले सुधारका प्रयासलाई निरन्तरता दिन आग्रह गर्नुभयो।

उहाँले नेपाल धितोपत्र बोर्डको जिम्मेवारी राष्ट्र बैंकको नियामकीय भूमिकासरह महत्वपूर्ण रहेको उल्लेख गर्दै कुनै दबाब वा प्रभावमा नपरी लगानीकर्ताको सम्पत्तिको सुरक्षा र बजारको विश्वास कायम गर्न केन्द्रित हुन निर्देशन दिनुभयो।

नयाँ सरकार गठनसँगै पूँजीबजारप्रति लगानीकर्ताको अपेक्षा बढेको उल्लेख गर्दै अर्थमन्त्री वाग्लेले नियमनसम्बन्धी कानुन तथा निर्देशिका निर्माण गर्दा सबै सरोकारवालासँग पर्याप्त परामर्श गरी साझा सहमतिका आधारमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो।

उहाँले सेयर बजारका सबै हिस्सेदारसँग समन्वय र संवाद बढाउँदै लगानीकर्ताको हित संरक्षणलाई प्राथमिकतामा राख्न बोर्डलाई आग्रह गर्नुभयो। साथै, नेपालको सेयर बजारलाई एसियाकै दोस्रो उत्कृष्ट र प्रतिस्पर्धी बजार बनाउने बोर्ड नेतृत्वको लक्ष्य कार्यान्वयनमा देख्न चाहेको पनि उहाँले बताउनुभयो।

कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. गोपाल भट्टले पूँजीबजार विकासका लागि विस्तृत ब्लूप्रिन्ट तयार गरी कार्यान्वयन सुरु गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार यही साउनभित्र प्राथमिक तथा दोस्रो बजारसँग सम्बन्धित आईपीओ निष्कासन, इन्ट्रा-डे कारोबार, मार्जिन लेन्डिङ र सर्ट सेलिङ सम्बन्धी निर्देशिका तयार गरिनेछ।

अध्यक्ष भट्टले ती निर्देशिकामाथि भदौ महिनामा सम्बन्धित सरोकारवालासँग परामर्श गरी चरणबद्ध रूपमा कार्यान्वयनमा ल्याइने जानकारी दिँदै पूँजीबजारलाई थप आधुनिक, व्यवस्थित र लगानीकर्ता–मैत्री बनाउने दिशामा बोर्ड प्रतिबद्ध रहेको बताउनुभयो।  


No ad available.


No ad available.