28th July 2026, Tuesday

राजस्व चुहावट नियन्त्रणमा ‘मिसन मोड’मा लाग्न अर्थमन्त्री वाग्लेको निर्देशन

Post Image
6 घण्टा अगाडी

News by: MissionSanchar

काठमाडौं, साउन १२ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राजस्व संकलनको बिग्रिएको लय सुधार गर्दै राजस्व चुहावट नियन्त्रणलाई उच्च प्राथमिकतामा राख्न भन्सार तथा कर प्रशासनलाई निर्देशन दिनुभएको छ।

सोमबार अर्थ मन्त्रालयमा आयोजित वार्षिक राजस्व समीक्षा बैठकलाई सम्बोधन गर्दै उहाँले चालु आर्थिक वर्षको राजस्व लक्ष्य स्पष्ट रहेको उल्लेख गर्दै त्यसलाई ‘मिसन मोड’ मा अघि बढाउन सबै निकायलाई आग्रह गर्नुभयो।

अर्थमन्त्री वाग्लेले कर प्रशासनलाई अर्जुनदृष्टिका साथ लक्ष्य प्राप्तिमा केन्द्रित हुन आग्रह गर्दै करदातामाथि अनावश्यक दबाब सिर्जना गरेर होइन, विश्वास र प्रोत्साहनको वातावरण निर्माण गरी कर संकलन बढाउनुपर्ने बताउनुभयो।

उहाँले कर संकलनको लक्ष्य वैज्ञानिक र यथार्थपरक हुनुपर्नेमा जोड दिँदै कर प्रशासकहरूलाई ‘कम्फर्ट जोन’बाट बाहिर निस्केर परिणाममुखी ढंगले काम गर्न निर्देशन दिनुभयो। इमान्दारी र मेहनतका साथ काम गर्ने कर्मचारीलाई प्रोत्साहन तथा गलत कार्यमा संलग्न हुनेलाई कारबाही गरिने चेतावनी पनि उहाँले दिनुभयो।

राजस्व लक्ष्य हासिल गर्न आवश्यक स्रोत–साधन उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै उहाँले नागरिकमा कर सचेतना अभिवृद्धि, सरकारले घोषणा गरेको कर छुट योजनाको प्रभावकारी कार्यान्वयन तथा करदाता प्रोत्साहन कार्यक्रमलाई सफल बनाउन निर्देशन दिनुभयो।

राजस्व चुहावट रोक्न प्रविधिको प्रयोग विस्तार गर्नुपर्नेमा जोड दिँदै अर्थमन्त्री वाग्लेले तीन महिनाभित्र देशका प्रमुख १४ भन्सार कार्यालयमा सवारीसाधन स्क्यानर जडान गर्न भन्सार विभागलाई निर्देशन दिनुभयो। यसअघि सञ्चालनमा आएर बिग्रिएका स्क्यानर मेसिनको मर्मत गरी पुनः सञ्चालनमा ल्याउन पनि उहाँले आग्रह गर्नुभयो।

उहाँले भन्सार तथा कर चुहावट हुने क्षेत्रको सूक्ष्म अनुगमन गर्न र व्यवसायीलाई तर्साएर होइन, कर प्रणालीबारे जानकारी गराएर करको दायरामा ल्याउनुपर्ने धारणा व्यक्त गर्नुभयो।

बैठकमा अर्थसचिव डा. घनश्याम उपाध्यायले आर्थिक गतिविधि र राजस्व संकलनबीच देखिएको असन्तुलनको कारण पहिचान गरी सुधार गर्न मातहतका निकायलाई निर्देशन दिनुभयो।

कार्यक्रममा राजस्व महाशाखा प्रमुख तथा सहसचिव उत्तरकुमार खत्रीले राजस्व संकलनको वर्तमान अवस्था र आगामी वर्षको लक्ष्यबारे प्रस्तुतीकरण गर्नुभएको थियो। त्यसैगरी भन्सार विभागका महानिर्देशक यमलाल भूसालले भन्सार राजस्वको अवस्था र आगामी कार्ययोजना प्रस्तुत गर्नुभएको थियो भने आन्तरिक राजस्व विभागका उपमहानिर्देशक जनकराज शर्माले कर छुट तथा करदाता प्रोत्साहन कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन भइरहेको जानकारी दिनुभयो।


No ad available.


No ad available.