28th July 2026, Tuesday

सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा राजमार्ग अवरुद्ध, निष्पक्ष छानबिन र प्रधानमन्त्रीको राजीनामा माग

Post Image
6 घण्टा अगाडी

News by: MissionSanchar

काठमाडौं, साउन १२ । सुनसरीको देवानगञ्जमा प्रहरीको गोली लागेर एक युवाको मृत्यु भएको घटनाको विरोधमा सिरहामा प्रदर्शनकारीले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन्।

मंगलबार गोलबजार नगरपालिका–८ स्थित पुरानो चोक (चोहर्वा) क्षेत्रमा स्थानीयले सडक अवरुद्ध गर्दै घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही तथा प्रहरी दमन अन्त्यको माग गरेका हुन्। प्रदर्शनका क्रममा केही प्रदर्शनकारीले प्रधानमन्त्री बालेन शाहको राजीनामा पनि माग गरेका थिए।

प्रदर्शनकारीहरूले सुनसरी घटनालाई गम्भीर मानवअधिकारको विषय भएको दाबी गर्दै सत्यतथ्य सार्वजनिक गर्न र गोली चलाउनेमाथि कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन्।

यसअघि सोमबार पनि सिरहाको कर्जन्हा नगरपालिका–बन्दीपुरस्थित पूर्व–पश्चिम राजमार्ग, गोलबजारको गोलपार्क तथा धनगढीमाई नगरपालिका–८ कसहा चोकमा विरोध प्रदर्शन भएको थियो।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक (एसपी) बासुदेव पाठकका अनुसार प्रदर्शनका कारण करिब आधा घण्टा राजमार्ग अवरुद्ध भएको थियो। आन्दोलनकारीसँग छलफलपछि सडक पुनः सञ्चालनमा आएको प्रहरीले जनाएको छ।

उल्लेखनीय छ, सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समूहबीच भएको झडप नियन्त्रण गर्ने क्रममा प्रहरीको गोली लागेर स्थानीय २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो। उक्त घटनापछि सुनसरीसहित मधेश प्रदेशका विभिन्न जिल्लामा विरोध प्रदर्शन जारी छ।


No ad available.


No ad available.