29th July 2026, Wednesday
News by: MissionSanchar
काठमाडौं, १० असार । परराष्ट्र मन्त्रालयले गत जेठ महिनाभरि सम्पन्न गरेका प्रमुख गतिविधि तथा उपलब्धिहरू समेटेर ४९ बुँदे मासिक प्रतिवेदन सार्वजनिक गरेको छ। प्रतिवेदनमा उच्चस्तरीय कूटनीतिक भ्रमण, द्विपक्षीय सहकार्य, कन्सुलर सेवा तथा नागरिक सेवासम्बन्धी विविध कार्यहरू समावेश गरिएका छन्। जेठ महिनामा परराष्ट्रमन्त्री शिशिर खनालले भारत र चीनको औपचारिक भ्रमण गरी नेपालका लागि महत्वपूर्ण कूटनीतिक पहललाई अगाडि बढाएका थिए। भारतका विदेशमन्त्री एस. जयशंकरको निमन्त्रणामा भएको भारत भ्रमणका क्रममा विकास सहकार्य, ऊर्जा, व्यापार तथा जनस्तरीय सम्बन्धका विषयमा उच्चस्तरीय छलफल भएको थियो। त्यसलगत्तै चीनका विदेशमन्त्रीको निमन्त्रणामा सम्पन्न चीन भ्रमणमा द्विपक्षीय सम्बन्ध सुदृढीकरण तथा आपसी सहकार्य विस्तारका विषयमा संवाद गरिएको थियो ।
स्वदेशभित्र पनि मन्त्रालयले विभिन्न कूटनीतिक तथा अन्तरसरकारी गतिविधिहरूको समन्वय र सहजीकरण गरेको जनाएको छ। जेठ १२ गते प्रधानमन्त्री बालेन्द्र शाहसँग युरोपियन युनियन तथा विभिन्न मुलुकका राजदूत एवं नियोग प्रमुखहरूको संयुक्त शिष्टाचार भेटका लागि आवश्यक व्यवस्थापन र समन्वय मन्त्रालयले गरेको थियो। संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिसँग भएको अन्तरक्रिया कार्यक्रममा परराष्ट्रमन्त्री र परराष्ट्र सचिव सहभागी भई मन्त्रालयका प्राथमिकता, कूटनीतिक गतिविधि तथा परराष्ट्र नीतिसम्बन्धी विषयमा विस्तृत जानकारी प्रस्तुत गरेका थिए। नेपाल–भारत सीमापार रेलमार्ग परियोजनाको प्रगति समीक्षा पनि मन्त्रालयका प्रमुख कार्यमध्ये एक रहेको छ। काठमाडौंमा सम्पन्न नेपाल–भारत रेल सहकार्यसम्बन्धी बैठकमा सीमापार रेल सम्पर्क परियोजनाको कार्यान्वयन अवस्था, निर्माण प्रगति र आगामी कार्ययोजनाबारे विस्तृत समीक्षा गरिएको थियो।
सेवामुखी कार्यतर्फ मन्त्रालयले गैरआवासीय नेपाली नागरिकलाई १९ वटा परिचयपत्र जारी गरेको जनाएको छ। कन्सुलर सेवा विभाग मार्फत ७५ हजार ४५३ वटा कागजात प्रमाणीकरण गरिएको छ भने विदेशमा समस्यामा परेका १२२ नेपाली नागरिकको उद्धार तथा क्षतिपूर्ति प्रक्रियाका लागि सहजीकरण गरिएको छ। साथै, विदेशमा निधन भएका २२ नेपाली नागरिकको शव व्यवस्थापनका लागि सम्बन्धित नेपाली नियोगहरूसँग समन्वय गरिएको विवरण प्रतिवेदनमा उल्लेख छ। यस अवधिमा राहदानी सेवातर्फ उल्लेखनीय प्रगति भएको देखिएको छ। मन्त्रालयका अनुसार राहदानी विभाग, नेपाली नियोगहरू तथा जिल्ला एवं इलाका प्रशासन कार्यालयहरूबाट गरी कुल १ लाख १ हजार ३३० वटा राहदानी जारी गरिएको छ। परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदनले जेठ महिनाभरि नेपालका कूटनीतिक सम्बन्ध विस्तार, नागरिक सेवा प्रवाह र अन्तर्राष्ट्रिय सहकार्यलाई सुदृढ बनाउन भएका गतिविधिहरूलाई उजागर गरेको छ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
त्रिभुवन विश्वविद्यालयमा उपकुलपति नियुक्त भएलगत्तै नेविसंघ र अखिल (क्रान्तिकारी)ले त्यसको विरोधमा आन्दोलन थाले।
पीएसजीद्वारा रियल म्याड्रिय पराजित
हेमबहादुर मल्ल सम्मान पूर्वप्रधानन्यायाधीश श्रेष्ठलाई प्रदान
मधेश प्रदेश सभा बैठक अवरुद्ध